डा. रामचन्द्र सापकोटा मदन भण्डारी विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको निर्देशक नियुक्त

Image

हेटौंडा / मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालको निर्देशक पदमा वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा. रामचन्द्र सापकोटा नियुक्त हुनुभएको छ। प्रतिष्ठानका उपकुलपति डा. प्रदिप ज्ञवालीको सिफारिसमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री डा. किरण थापाले सोमबार औपचारिक रूपमा नियुक्ति पत्र प्रदान गर्नुभएको हो।

मन्त्री थापाले अस्पताललाई प्रदेशकै उत्कृष्ट स्वास्थ्य सेवा तथा शिक्षा केन्द्रको रूपमा विकास गर्ने लक्ष्यअनुसार दक्ष नेतृत्व आवश्यक रहेको बताउनुभयो। उहाँले डा. सापकोटा जस्तो अनुभवी चिकित्सकको नेतृत्वमा सेवा स्तर, शैक्षिक गुणस्तर र बिरामीमैत्री वातावरण सुनिश्चित हुने विश्वास व्यक्त गर्नुभयो।

चितवनबासी डा. सापकोटा हाल अस्पतालका निमित्त निर्देशकको रूपमा कार्यरत रहनुभएको थियो। उहाँले पोखरास्थित मणिपाल मेडिकल कलेजबाट MBBS र त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जबाट MS Orthopedics अध्ययन पूरा गर्नुभएको छ।

नियुक्ति पश्चात डा. सापकोटाले अस्पतालको स्वास्थ्य सेवा, शैक्षिक गुणस्तर र बिरामीमैत्री वातावरण विकास गर्न प्रतिबद्धता व्यक्त गर्दै “सबैको विश्वास जित्ने गरी काम गर्नु नै मेरो पहिलो प्राथमिकता हुनेछ” भन्नुभयो।

उहाँले उपकुलपति डा. ज्ञवालीबाट पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभयो। कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतम, प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा. डा. दिनेश कुमार लम्साल, रजिस्ट्रार भिमसागर गुरागाई, मन्त्रालयका महाशाखा प्रमुख सागर घिमिरे, अस्पताल संचालन समितिका सदस्यहरू, प्रतिष्ठानका प्राध्यापक तथा प्रशासन प्रमुखको उपस्थिति थियो।