स्मार्ट वर्क, टिमवर्क र नवीन सोचबाट मात्रै प्रदेशको समृद्धि सम्भवः मन्त्री देवकोटा

Image

हेटौँडा । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाले परम्परागत र प्रक्रियामुखी कार्यशैलीबाट अपेक्षित समृद्धि हासिल गर्न नसकिने भन्दै स्मार्ट वर्क, टिमवर्क र नवीन सोचलाई आत्मसाथ गर्नुपर्नेमा जोड दिनुभएको छ।

आर्थिक वर्ष २०८१/८२ को वार्षिक समीक्षा तथा २०८२/८३ को कार्ययोजना तर्जुमा गोष्ठीको उद्घाटनपछि मन्तव्य राख्दै उहाँले कर्मचारीतन्त्रको सोच र कार्यशैलीमा आमूल परिवर्तन आवश्यक रहेको बताउनुभयो। उहाँका अनुसार केवल औपचारिकता पूरा गर्ने प्रवृत्तिले जनतालाई सकारात्मक अनुभूति दिन सक्दैन।

“हामीले अब टिप्पणी उठाएर वा फाइल सदर गरेर मात्र जिम्मेवारी पूरा भएको ठान्ने मानसिकता त्याग्नुपर्छ। हाम्रो काम प्रत्यक्ष जनताले देख्ने र अनुभव गर्ने गरी परिणाममुखी हुनुपर्छ,” मन्त्री देवकोटाले स्पष्ट पार्नुभयो।

उहाँले ठूला लक्ष्य एक्लै हासिल गर्न नसकिने उल्लेख गर्दै मन्त्रालय, विभाग तथा कर्मचारीबीच बलियो टिमवर्क आवश्यक रहेको धारणा राख्नुभयो। साथै, नवीन सोच र गतिशील कार्ययोजनाबिना परिवर्तन र विकास सम्भव नभएको बताउँदै नयाँ प्रविधि र अवधारणालाई प्रदेशको विकाससँग जोड्नुपर्नेमा जोड दिनुभयो।

मन्त्री देवकोटाले योजनाहरूलाई प्राथमिकताका आधारमा वर्गीकरण गरी स्रोत र साधनको अधिकतम उपयोग गर्न निर्देशनसमेत दिनुभयो। गोष्ठीले आगामी वर्षका लागि रणनीतिक र कार्यान्वयनयोग्य योजना निर्माणमा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै उहाँले छलफलबाट आउने निष्कर्षले प्रदेशको पूर्वाधार विकासमा नयाँ मार्ग प्रशस्त गर्ने अपेक्षा गर्नुभयो।

मन्त्रालयका सचिव इश्वरी चन्द्र मरठ्ठाको अध्यक्षतामा भएको दुई दिने गोष्ठी (भदौ १७ र १८) मा वातावरण संरक्षण तथा जलबायू परिवर्तन व्यवस्थापन विज्ञ डा. माघव कार्की र शहरी योजना तथा वस्ती विकास विज्ञ डा. संगिता सिंहले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा यातायात पूर्वाधार निर्देशनालयका निर्देशक नविन कुमार सिंह, प्रदेशका ११ वटै जिल्लाका भौतिक पूर्वाधार विकास कार्यालय तथा शहरी विकास कार्यालयका प्रमुखसहित अन्य कर्मचारीहरूको सहभागिता रहेको थियो।