हेटौंडा/ २०६८ सालमा हेटौंडाबाट सडक बालकको रूपमा उद्दार गरिएका राजु अधिकारी आज सफलतापूर्वक आफ्नै घरको मालिक बनेका छन्। मामाघर नेपाल मकवानपुरको संरक्षणमा हुर्किएका राजुले लागू औषधको दुर्व्यसनदेखि असामाजिक गतिविधिसम्मको कठिन यात्रा पार गर्दै अन्ततः हेटौंडा–११ डाङ्डुङेमा बनेको चार कोठे घरमा गृहप्रवेश गरेका हुन्।
हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाको प्रमुख आतिथ्यमा विशेष कार्यक्रमका बीच राजुलाई घरको लालपुर्जा हस्तान्तरण गरिएको थियो। बाल्यकालमा औपचारिक शिक्षा कठिन भए पनि उनलाई विभिन्न सिप—हकर, फ्रिज मर्मत, इलेक्ट्रीसियन, प्लम्बिङ, बारिस्टा आदिमा दक्ष बनाउन प्रयास गरिएको थियो। खेलकुदमा समेत सक्रिय रहँदै उनले राष्ट्रिय स्तरमा हकिको खेलसम्म खेलेका थिए।
अन्ततः स्थायी घर र परिचय निर्माण गर्ने लक्ष्यका साथ कतार पुगेका राजुले त्यहाँ अनेक कठिनाइ सहनु परे पनि हार मानेनन्। अहिले उनको सपना साकार भएको छ। मामाघर नेपालले राजुको गृहप्रवेशलाई सामाजिक पुनर्स्थापनाको उपलब्धि ठहर गर्दै सडक बालबालिकामुक्त समाज निर्माणका लागि अझै हातेमालो आवश्यक रहेको मामाघर नेपालका अध्यक्ष अर्पण पराजुलीले बताउनुभयो।
संस्थाले उद्दार गरेका बालबालिकालाई सक्षम र आत्मनिर्भर बनाउन निरन्तर प्रयास गरिरहेको उहाँले बताउनुभएको छ।

















