हेटौंडा/ मकवानपुरगढी गाउँपालिकामा स्व. साइमन योञ्जन स्मृति रनिङ्ग शिल्ड फुटसल प्रतियोगिता हुने भएको छ । असोज ९ गतेदेखि १२ गतेसम्म मकवानपुरगढी गाउँपालिका–३, मक्राञ्चुलीस्थित भानु माध्यमिक विद्यालयको फुटसल कोर्टमा पहिलो संस्करणको खुल्ला फुटसल प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
मकवानपुरगढी खेलकुद विकास समितिको आयोजनामा र गाउँपालिकाको सहयोगमा हुन लागेको प्रतियोगिता दिवंगत खेलाडी साइमनको योगदान सम्झना र सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको खेलकुद विकास समितिका अध्यक्ष हिराबहादुर स्याङ्तानले जानकारी दिएका छन् । गत असोज १२ गते कुलेखानी–सिस्नेरी पहिरोमा ज्यान गुमाएका साइमनप्रति श्रद्धाञ्जली स्वरूप प्रतियोगिता सुरु गर्न लागिएको हो ।
प्रतियोगिताले युवा खेलाडीलाई फुटसलमा सहभागी गराउँदै अनुशासन, टिमवर्क, सामाजिक मेलमिलाप र स्वस्थ मनोरञ्जन प्रवर्द्धन गर्ने उद्देश्य लिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेता टिमले एक लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ६५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै, प्रत्येक खेलको “म्यान अफ द म्याच” र उत्कृष्ट विधागत खेलाडीका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगिता सफल बनाउन गाउँपालिकाले पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । आयोजकले यस प्रतियोगितालाई हरेक वर्ष निरन्तरता दिने योजना रहेको पनि जानकारी दिएको छ ।
कार्यक्रममा कार्यक्रम संयोजक बिक्रम योन्जन, स्वर्गीय साइमन योन्जनका पिता तथा गढी गाउँपालिका खेलकुद विकास समिती सदस्य हेम योन्जन, खेलकुद समितिका सदस्य चन्द्र बन्जरा साथै पत्रकारहरूको पनि उपस्थिति रहेको थियो ।












