हेटौंडा । चेपाङ समुदायको प्रमुख सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा बागमती प्रदेश सरकारले तीन जिल्लामा सार्वजनिक बिदा दिने घोषणा गरेको छ । प्रदेश सरकारको निर्णयअनुसार आउँदो भदौ २२ गते आइतबार चितवन, मकवानपुर र धादिङ जिल्लामा बिदा हुने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिहीबार जनाएको हो ।
मन्त्रालयकी सह-प्रवक्ता रविता कार्कीका अनुसार बागमती प्रदेश राजपत्र (खण्ड ८, संख्या ३२, भाग ३) मा २०८१ चैत २१ गते प्रकाशित सूचनाअनुसार सार्वजनिक बिदा दिने व्यवस्था गरिएको स्पष्ट गरिएको छ ।
चेपाङ समुदायको बाक्लो बसोबास रहेका यी जिल्लामा हरेक वर्ष न्वागी पर्व विशेष उत्साहका साथ मनाइन्छ । यस पर्वमा नयाँ अन्नबाली वा फलफूल पितृलाई चढाएपछि मात्र खाने परम्परा रहिआएको छ । नयाँ उब्जनी पितृलाई नचढाई खाएमा अनिष्ट हुन्छ भन्ने धार्मिक विश्वास आज पनि समुदायमा दृढतापूर्वक प्रचलित छ ।

















