बकैयामा भीषण आगलागी : पसलधनी गम्भीर घाइते, दुई करोड बराबरको क्षति

Image

हेटौंडा/ मकवानपुरको बकैया गाउँपालिका–५, गरगरेमा शुक्रबार बिहान भएको भीषण आगलागीबाट करिब दुई करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

अञ्चल प्रहरी पोष्ट गरगरेका अनुसार बिहान ७:४५ बजे लिलाराम जिम्बाको किराना पसलमा आगलागी भएको जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । हेटौंडा उपमहानगरपालिकाको दमकल, बागमती गाउँपालिकाको दमकल तथा स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।

आगो निभाउने क्रममा पसल धनी ४५ वर्षीय लिलाराम जिम्बा घाइते भएका छन् । दुवै हात र खुट्टा पोलिएका जिम्बालाई सुरुवाती उपचारपछि चुरेहिल अस्पताल ल्याइएकाे थियो । शरिरको करिब ४० प्रतिशत भाग जलेको हुँदा थप उपचारका लागि उनलाई किर्तिपुरस्थित वर्न अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ । उनको अवस्था मध्यम रहेको बताइएको छ ।

आगलागीबाट दुईतले पक्की घर पूर्णरुपमा जलेर नष्ट भएको छ । सोहीसँगै १५ लाख नगद, करिब ३० वटा ग्यास सिलिन्डर, पेट्रोल, डिजेल, खाद्यान्न, लत्ता–कपडा, फर्निचर लगायतका सामान जलेका छन् । त्यस्तै, घरभित्र रहेको बा.प्र.०३–००६ प १८९७ नम्बरको एनएस २०० मोटरसाइकल र किनमेल गर्न आएका नारायण बहादुर स्याङतानको ना.४९ प १३ नम्बरको पल्सर मोटरसाइकल समेत जलेर नष्ट भएको छ ।

आगलागीबाट एकवटा कुकुरको बच्चाको समेत ज्यान गएको छ । घटनामा करिब दुई करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

घरधनीका अनुसार घर अगाडि बालेको दियोमा पेट्रोलको ड्रम पल्टिँदा आगो सल्किएको र सोही कारणले आगलागी भएको खुलेको छ ।