नयाँबानेश्वर, काठमाडौं / सोमबारदेखि सुरु भएको ‘जन–जी आन्दोलन’ मंगलबार दिउँसो नयाँबानेश्वर संसद् भवन अगाडिको सडक रगत र धुवाँले भरिएको थियो। संसद् भवन कब्जा गर्ने प्रयाससँगै सुरु भएको झडपले दर्जनौँ घाइते भए, १६ जनाले ज्यान गुमाए।
रक्ताम्य सडकदेखि अस्पतालसम्म
संसद भवन अगाडिको सडकमा भीडलाई तितरबितर गर्न सुरक्षाकर्मीले अश्रुग्याससँगै गोली प्रहार गरे। छेउमै उभिएका एक प्रत्यक्षदर्शी भन्छन्, “लोग्ने छेउमै ढल्यो, कसरी अस्पताल पुर्याउने भन्ने होससमेत थिएन।”
केहीलाई घटनास्थलमै ज्यान गयो, धेरैलाई मोटरसाइकल, एम्बुलेन्स र पुलिसको गाडीमार्फत अस्पताल पुर्याइयो।
ट्रमा सेन्टरको भरिभराउ अवस्था
राष्ट्रिय ट्रमा सेन्टरमा प्रवेश गर्दा आत्तिएका आफन्तहरूको चिच्याहट सुनिन्छ। स्ट्रेचरमा ल्याइएका घाइतेहरूको निरन्तर आगमनले आकस्मिक कक्ष भरेको छ। मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री रिजाल भन्छन्, “५० जना घाइते भइसके, ६ जनाको मृत्यु भयो। अझै आईसीयू र ओटीमा उपचार भइरहेका छन्।”
ट्रमा सेन्टरमै मात्रै ६ जनाको ज्यान गइसकेको छ। डाक्टरहरू भन्छन्, “घाइते अझै आइरहेका छन्, कति धान्न सकिन्छ भन्ने ठेगान छैन।”
युवाको नेतृत्वमा आन्दोलन
मृतकमध्ये एक २२ वर्षीय युवक हेटौंडाका भएको खुलेको छ। अस्पतालमा भेटिएका उनका साथीले भने, “सपना बोकेर काठमाडौं आएको साथी लास बनेर फर्किन्छ भनेर सोचेकै थिएन।”
अस्पतालहरूमा दबाब
निजामती अस्पतालमा ३, त्रिवि शिक्षण अस्पताल, काठमाडौं मेडिकल कलेज र एभरेस्ट अस्पतालमा एक–एक जनाको मृत्यु भएको छ।
प्रत्येक अस्पतालमा घाइतेहरूको चाप छ, बिरामी बोकेका आफन्तहरू बेड खोज्दै भौतारिरहेका छन्।
राजनीतिक मौनता, नागरिकको पीडा
सडकमा चिच्याएका युवाहरूको आवाज गोलिले चुप गराइयो। अस्पतालको ग्यालरीमा भने आमा–बाबु, दिदी–बहिनीहरूको रुवाबासी थामिनसक्नु छ। तर राजनीतिक नेतृत्व अझै मौन छ।

















