हेटौंडा / मकवानपुरको भीमफेदी क्षेत्रीय कारागारमा गए राति मध्यराततिर ठूलो विद्रोह भएको छ। कारागारको ‘क’ ब्लकमा रहेका २६० जना कैदीबन्दीले तीनवटा गेट फुटाएर भाग्ने प्रयास गर्दा स्थिति तनावपूर्ण बनेको हो।
कारागार प्रमुख सुवास पौडेलका अनुसार कैदीहरूले पश्चिमतर्फको पर्खाल भत्काएर भाग्ने प्रयास गरेका थिए। ब्लकमा पाँच सयभन्दा बढी कैदीबन्दी रहेकोमा करिब २३० जनालाई नियन्त्रणमा लिएर पुनः फर्काइएको छ।
विद्रोह नियन्त्रणका क्रममा सुरक्षाकर्मी र कैदीबीच चार घण्टासम्म झडप भएको पौडेलले जानकारी दिए। सेनाले अवस्था नियन्त्रणमा लिन २०० राउण्ड हवाई फायर गरेको थियो भने सशस्त्र प्रहरीले २ राउण्ड हवाई फायर र अश्रुग्यास प्रयोग गरेको थियो।
झडपका क्रममा सेनाले चलाएको गोली लागेर दुई जना कैदी घाइते भएका छन्। घाइतेलाई हेटौंडा अस्पतालमा उपचार भइरहेको छ। पौडेलका अनुसार कारागारको गाडी लिएर भाग्ने क्रममा टायरमा चलाइएको गोली कैदीलाई लागेको हो।
विद्रोहका क्रममा कैदीहरूले कारागारभित्र तोडफोड र आगजनीसमेत गरेका छन्। तर कारागारको अर्को ‘ख’ ब्लक भने सुरक्षित रहेको जनाइएको छ।

















