हेटौंडा बालसुधार गृहबाट ७२ बालक सामूहिक रूपमा फरार

Image

हेटौंडा / मकवानपुरको हेटौंडा–११ स्थित बालसुधार केन्द्रबाट बुधबार दिउँसो ७२ जना बालकहरू सामूहिक रूपमा फरार भएका छन्। दिउँसो करिब ३:२० बजे सुधार गृहको संरचना तोडफोड गरी उनीहरू भागेको बताइन्छ।

बालसुधार गृह मकवानपुरका कार्यालय प्रमुख प्रदीप गौतमका अनुसार, सो समयमा सुधार गृहमा ९४ जना बालकहरू थिए। तर हालसम्म २२ जना मात्र सुधार गृहमै रहेका छन् भने बाँकी ७२ जना अझै फरार अवस्थामा छन्।

घटनापछि प्रहरीले व्यापक खोजी कार्य थालेको छ। फरार बालकहरूको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको छ भने छिमेकी जिल्लाहरूमा समेत निगरानी कडा पारिएको छ।

सुरक्षा निकायले घटनाबारे प्रारम्भिक अनुसन्धान सुरु गरिसकेको छ। यसबीच, सुधार गृहको सुरक्षा व्यवस्था कमजोर भएको आशंका गरिएको छ।