हेटौंडा/ Gen-Z आन्दोलनको क्रममा देशभरका विभिन्न कारागार तथा सुधार गृहबाट ठूलो संख्यामा कैदीबन्दीहरू भागेपछि सुरक्षाकर्मीले तीमध्ये १६६ जनालाई नियन्त्रणमा लिएको छ। नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त सक्रियतामा फरार कैदीबन्दीलाई नियन्त्रणमा लिन व्यापक खोजतलास जारी रहेको छ।
भिमफेदी कारागारबाट सबैभन्दा बढी
मकवानपुरस्थित भिमफेदी कारागारमा रहेका कुल १०६६ कैदीबन्दीमध्ये ४४० जना फरार भएका थिए। तीमध्ये हालसम्म ७८ जना पक्राउ परेका छन् भने ३६२ जना अझै फरार रहेका छन्।
बाल सुधार गृह मकवानपुर
त्यस्तै, मकवानपुरकै बाल सुधार गृहमा रहेका ९४ मध्ये ७२ जना फरार भएका थिए। तीमध्ये ४१ जना नियन्त्रणमा आइसकेका छन् भने ३१ जना अझै खोजीको सूचीमा छन्।
अन्य कारागारबाट नियन्त्रण
नख्खु कारागार, डिल्लिबजारबाट ७ जना
केन्द्रीय कारागार, जगन्नाथदेवलबाट २ जना
कास्की कारागारबाट १ जना
तनहुँ जिल्ला कारागारबाट २ जना
यसबाहेक अन्य कारागार कार्यालय खुल्न बाँकी अवस्थामा ३५ जना नियन्त्रणमा लिइएको सुरक्षास्रोतले जनाएको छ।
हालसम्मको संख्यात्मक विवरण
हालसम्म विभिन्न स्थानबाट भागेका कैदीबन्दीमध्ये १६६ जना नियन्त्रणमा आइसकेका छन् भने अझै ठूलो संख्यामा कैदीबन्दी फरार रहेको बताइएको छ। सुरक्षाकर्मीले बाँकी फरार कैदीबन्दीलाई पक्राउ गर्न विशेष अपरेसन सञ्चालन गरिरहेको छ।

















