हेटौंडा/ हिंसात्मक जेनजी आन्दोलनले केवल सडक मात्र तातेको छैन, नेपाली उद्यमशीलता र लगानी वातावरण नै संकटमा परेको संकेत दिएको छ । मुलुककै सबैभन्दा ठूलो खुद्रा व्यवसायिक सञ्जाल भाटभटेनी सुपर स्टोर आन्दोलनकारीको मुख्य निशाना बनेपछि, निजी सम्पत्ति नेपालमा सुरक्षित छैन भन्ने सन्देश स्वदेशी र विदेशी लगानीकर्तासम्म पुगेको छ ।
उद्यमशीलताको दशौँ वर्षको मिहिनेत खरानी
मीनबहादुर गुरुङले ४१ वर्षअघि एउटा सानो सटरबाट सुरु गरेको भाटभटेनी आज देशभर साढे दुई दर्जनभन्दा बढी शाखासहित हजारौँ रोजगारी दिने व्यवसाय बनेको थियो । तर, तीन दिनको आन्दोलनमै १२ ठूला स्टोर आगजनी हुँदै ध्वस्त, नौवटा स्टोर लुटपाट र तोडफोड हुँदा यो मिहिनेत क्षणभरमै धुलोमा मिलेको छ ।
यसले नेपालमा व्यवसाय सुरु गर्न वर्षौँको लगन चाहिन्छ तर भत्काउन केही मिनेट काफी हुन्छ भन्ने कठोर यथार्थ उजागर गरेको छ ।
लगानी वातावरण असुरक्षित
उद्योगी–व्यवसायीहरूले निजी सम्पत्तिलाई लक्षित गरेर भएको आक्रमणलाई खतरनाक मोडका रूपमा लिएका छन् ।
नेपाल उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधिहरूको भनाइ छ “जबसम्म निजी सम्पत्तिको सुरक्षा हुने ग्यारेन्टी हुँदैन, तबसम्म स्वदेशी र विदेशी लगानीकर्ताको भरोसा कायम रहन सक्दैन ।”
भाटभटेनीको जस्तो संरचना लुटपाट र आगजनीको लक्ष्य बन्ने हो भने अन्य व्यवसायी नयाँ लगानी गर्ने उत्साह गुमाउने स्पष्ट देखिएको छ ।
रोजगारी र बजारमा प्रत्यक्ष असर
भाटभटेनीका करिब ५ हजार प्रत्यक्ष कर्मचारी बेरोजगार भएका छन् । गोदाम, आपूर्ति श्रृंखला र सेवा प्रदायक मिलाएर दशौँ हजार प्रभावित छन् ।
यससँगै वार्षिक ३९ अर्ब रुपैयाँको कारोबार गर्ने संस्थाको क्षतिले बजार आपूर्ति श्रृंखलामा अभाव, मूल्यवृद्धि र अस्थिरता ल्याउने जोखिम बढेको छ ।
निजी सम्पत्ति सुरक्षा अपरिहार्य
विशेषज्ञहरू भन्छन्, लगानी आकर्षण र उद्यमशीलता प्रोत्साहन गर्न सरकारको पहिलो कर्तव्य निजी सम्पत्ति र उद्योग–व्यवसायलाई सुरक्षा दिनु हो ।
तर, जेनजी आन्दोलनले त्यो आधारमै प्रश्न उठाएको छ । यसरी निरन्तर असुरक्षा बढेमा देशभित्र पूँजी पलायन हुने र विदेशी लगानी रोकिने चेतावनी अर्थशास्त्रीहरूले दिएका छन् ।
संस्थापक गुरुङको अठोट
भाटभटेनीका संस्थापक मीनबहादुर गुरुङले भने हार नमान्ने अठोट व्यक्त गरेका छन् । “दुखद घटना भयो, तर भाटभटेनी फेरि उस्तै स्वरूपमा उठ्छ” उनले भनेका छन् ।
तर, निजी सम्पत्तिमै आक्रमण हुने वातावरण परिवर्तन नगरी यस्तो अठोट दीर्घकालीन रूपमा टिक्न कठिन देखिन्छ ।

















