हेटौंडा / मकवानपुर र बारा जिल्लाको सिमानास्थित चुरियामाई नजिक आज दिउँसो नेपाली सेना सवार ट्रक दुर्घटना हुँदा १६ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार नं. २ राजदल गण तनहुँबाट धनुषातर्फ उप सेनानी हर्ष बिक्रम अधिकारीको कमाण्डमा गइरहेका ४ वटा सेनाका ट्रकमध्ये लु १ ग २८० नं.को ट्रक दुर्घटनामा परेको हो। करिब २:५० बजे सिमानाको पुलबाट करिब १०–१२ फिट तल खोल्सामा खसेर उक्त ट्रक दुर्घटनामा परेको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा ट्रकमा सवार २२ मध्ये १६ जना घाइते भएका छन्। तीमध्ये ३ जनाको अवस्था गम्भीर रहेको र बाँकीको सामान्य चोटपटक लागेको प्रहरीले जनाएको छ। घाइते सबै नेपाली सेनाका जवान रहेका र उनीहरूलाई नेपाली सेनाकै सहयोगमा उद्दार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाइएको हो।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर, ईलाका प्रहरी कार्यालय पशुपतिनगर, प्रहरी चौकी रातोमाटे र ईलाका प्रहरी कार्यालय अमलेखगञ्ज बाराबाट संयुक्त प्रहरी टोली खटिएको थियो। उद्धारपछि हेटौंडा अस्पतालमा पनि प्रहरीको अतिरिक्त टोली खटाइएको मकवानपुर प्रहरी प्रमुख उपरीक्षक विश्वराज खड्काले जानकारी दिए।

















