हेटौंडा/ मकवानपुरको बकैया गाउँपालिका–५, गरगरेका लिलाराम जिम्बा आफ्नै पसलमा लागेको आगो निभाउन दौडे। परिवार र पसल जोगाउने प्रयासमै उनी गम्भीर घाइते भए। हिजो मंगलबार राति काठमाडौँस्थित कीर्तिपुर जलन अस्पतालमा उनको उपचारका क्रममा निधन भयो।
जिम्बाको मृत्युले गाउँ मात्र होइन, आसपासका समुदायलाई समेत स्तब्ध बनाएको छ। कारण, जिम्बा व्यापारमै निर्भर परिवारका मुख्य अन्नदाता थिए। उनका दुई तले पक्की घरसहितको किराना पसलमा करिब २ करोड रुपैयाँ बराबरको सम्पत्ति नष्ट भएको छ। नगद १५ लाखदेखि लिएर दैनिकी चलाउने सबै सामग्री खरानी बने।
स्थानीयवासीका अनुसार जिम्बा मिलनसार, सहयोगी र परोपकारी स्वभावका थिए। गाउँमा सानो–ठूलो कार्यक्रम हुँदा उनी सक्रिय रहँदै आएका थिए। तर एकैपटक आगलागी र त्यसपछि भएको मृत्युले गाउँमा शोक छाएको छ।
आगो नियन्त्रणका लागि तत्कालीन तयारी र संरचनात्मक पूर्वाधारको अभाव पनि यस घटनाले उजागर गरेको छ। गाउँमै दमकल सुविधा नहुँदा स्थानीयले पानीको बाल्टिन र बालुवा प्रयोग गरेर आगो निभाउने प्रयास गरेका थिए। तर त्यो पर्याप्त भएन।

















