हेटौंडा / नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलले भदौ २३ र २४ गते भएको जेन जेड आन्दोलनका क्रममा देखिएका तोडफोड, आगजनी र लुटपाट घटनाको भर्त्सना गर्दै दोषीमाथि कडा कारबाही गर्न सरकारलाई माग गरेको छ।
आन्दोलनपछिको पहिलो बैठक बिहीबार हेटौंडामा बसेको संसदीय दलले आन्दोलनमा घुसपैठका कारण ठूलो मात्रामा भौतिक तथा मानवीय क्षति पुगेको निष्कर्ष निकालेको छ। बैठकले सरकारी निकाय, उद्योग प्रतिष्ठान र विभिन्न दलका नेताहरूको घरमा भएको तोडफोड, लुटपाट र आगजनीप्रति गम्भीर आपत्ति जनाएको छ।
दलका नेता जगन्नाथ थपलिया, प्रमुख सचेतक एकालाल श्रेष्ठ र पूर्वमन्त्री केशव प्रसाद पोखरेलको घरमा समेत आक्रमण भएको घटनाप्रति बैठकले खेद प्रकट गर्दै दोषीलाई कानूनी दायरामा ल्याउन सरकारसँग माग गरेको हो।
त्यसैगरी, प्रदेश सरकारका मन्त्रालय, मातहतका कार्यालय तथा प्रदेशसभा भवनमा भएको क्षतिप्रति बैठकले चिन्ता व्यक्त गर्दै, क्षतिको विस्तृत विवरण संकलन गरी पुनर्निर्माणमा अघि बढ्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको प्रमुख सचेतक श्रेष्ठले जानकारी दिए।
बैठकले आउँदो असोज ३ गते संविधान दिवसलाई भव्य र गरिमामय ढंगले मनाउन सबैलाई अपिल समेत गरेको छ।

















