संविधान दिवस २०८२ मा संविधानको सर्वोच्चता र सुशासनमा जोड

Image

हेटौंडा/ संविधान दिवस २०८२ को अवसरमा आयोजित विशेष समारोहमा संविधानको सर्वोच्चता, सुशासन, पारदर्शिता र लोकतान्त्रिक मूल्यप्रतिको प्रतिबद्धता दोहोर्याइएको छ।

कार्यक्रममा बागमती प्रदेश सरकारका माननीय मुख्यमन्त्री, उपसभामुखसहित उच्च पदस्थ व्यक्तित्वहरूको उपस्थितिमा सम्बोधन गर्दै वक्ताले नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानको फसलस्वरूप २०७२ सालमा जारी भएको संविधानलाई “न्यायपूर्ण, समतामूलक समाज र राष्ट्रिय एकताको आधारशिला” का रूपमा व्याख्या गरे।

सो अवसरमा शहादत प्राप्त ज्ञात–अज्ञात सहिदप्रति उच्च सम्मान प्रकट गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो। साथै, भाद्र २३ र २४ गतेको आन्दोलनमा शहीद भएका प्रति विशेष श्रद्धासुमन र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत व्यक्त गरियो।
वक्ताले संविधानलाई “कानुनी दस्तावेज मात्र नभई जनभावनाको प्रतिविम्ब” भन्दै कार्यान्वयनका क्रममा देखिएका त्रुटि कमजोरीलाई सुधार्दै अघि बढ्न सबैलाई आह्वान गरे। उनले भने, “गल्तीलाई दोहोर्‍याउनु मुर्खता हो, संविधानको चौकटीभित्रै रहँदै सुशासन, समृद्धि र युवापुस्ताको आकांक्षा पूरा गर्न सकिन्छ।”

समारोहमा सुशासन, पारदर्शिता, मितव्ययिता र जवाफदेहिता कायम गर्न प्रत्येक तह र तप्काबाट परिणाममुखी कार्यमा जोड दिनुपर्नेमा जोड दिइयो। संविधान दिवसले राष्ट्रिय एकता, लोकतान्त्रिक मूल्य र शान्तिपूर्ण सहअस्तित्वको मार्गमा सबै नेपालीलाई अघि बढ्न प्रेरित गर्ने अपेक्षा व्यक्त गरिएको छ।