हेटौंडा/ मकवानपुरको हेटौडा उपमहानगरपालिका–१९ , बस्तिपुरस्थित पूर्व–पश्चिम राजमार्ग खण्डमा आइतबार दिउँसो भएको भीषण सवारी दुर्घटनामा ३१ जना घाइते भएका छन्।
दिउँसो करिब १ः१० बजे चितवनबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ६ ख २११९ नम्बरको यात्रुबाहक बसको चालक साइडको टायर पड्किँदा बस अनियन्त्रित भई हेटौडाबाट चितवनतर्फ आउँदै गरेको ना ६ ख ८१८० नम्बरको मालबाहक ट्रकसँग ठोक्किएको हो। ठक्करपश्चात सो ट्रक समेत अनियन्त्रित भई काठमाण्डौंबाट बारातर्फ आउँदै गरेको ना ७ ख १७७४ नम्बरको खाली तेल ट्याङ्करसँग ठोक्किँदा श्रृंखलाबद्ध दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
दुर्घटनामा परेर बस र ट्रकमा सवार ३१ जना घाइते भएका छन्। तीमध्ये २ जनाको अवस्था गम्भीर रहेको र अन्य घाइते मध्यम तथा सामान्य अवस्थामा रहेको प्रहरीले जनाएको छ। सबै घाइतेलाई उद्धार गरी हेटौडा अस्पताल मकवानपुर र CMC चुरेहिल अस्पताल हेटौडामा उपचार भइरहेको छ।
दुर्घटनास्थलमा इलाका प्रहरी कार्यालय नेवारपानीबाट प्र.ब.ना.नि. प्रकाश खत्रीको कमाण्डमा टोली खटिएको थियो। साथै जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्र.ना.उ. श्यामु अर्यालको र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट प्र.नि. बच्चुराम फुँयालको कमाण्डमा गरी २५ जनाको संयुक्त टोली खटिएर उद्धार तथा सवारी साधन हटाउने कार्य भइरहेको प्रहरीले जनाएको छ।

















