मकवानपुरमा लागुऔषधसहित दुई जना पक्राउ

Image

हेटौंडा/ २०८२ असोज ८ गते ।
मकवानपुर प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

सोमबार दिउँसो करिब २ बजेतिर पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे क्षेत्रमा प्रहरी चौकी रातोमाटेको टोलीले चेकजाँच गर्ने क्रममा ना.५२ प ४०५८ नम्बरको मोटरसाइकल रोकेर तलासी गर्दा प्रतिबन्धित लागूऔषध फेला परेको हो।

मोटरसाइकल चालक पर्सा बहुदरमाई नगरपालिका–४ का २९ वर्षीय अब्दुल अंसारी र पछाडि सवार मकवानपुर बकैया गाउँपालिका–४ छतिवन घर भई हाल हे.उ.म.न.पा.–५ बस्ने ३७ वर्षीय दिपक संजेललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

तलासी क्रममा मोटरसाइकलको सिट मुनी लुकाइएका ONEREX 100 ML का २५ बोतल र NITRAZEPAM 10 MG का ९० ट्याबलेट बरामद भएको प्रहरीले जनाएको छ।

बरामद लागुऔषध तथा मोटरसाइकलसहित दुबै जना नियन्त्रणमा रही थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।