इन्द्रसरोवर गाउँपालिकाका लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता बैंकमार्फत वितरण

Image

हेटौंडा/ मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासिक सामाजिक सुरक्षा भत्ता लाभग्राहीको बैंक खातामा नै पठाएको छ। गाउँपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाले असोज ९ गते जारी गरेको सूचनामा सबै वडाका लाभग्राहीको रकम इलेक्ट्रोनिक फण्ड ट्रान्सफर (EFT) प्रणालीमार्फत ग्लोबल आई.एम.ई. बैंकमा जम्मा भइसकेको जनाएको छ।

गाउँपालिकाले समय अभावका कारण दशैंपश्चात भुक्तानी शिविर सञ्चालन गर्ने भए पनि अति आवश्यक पर्ने लाभग्राहीले भने असोज १० गतेदेखि चेक र नागरिकता साथमा लिएर नजिकको ग्लोबल आई.एम.ई. बैंक शाखाबाट भत्ता बुझ्न सक्ने जनाएको छ।

साथै, नयाँ लाभग्राहीका लागि गाउँपालिकाले खाता खोली रकम जम्मा गरिसकेको भए पनि बैंक खाता सक्रिय गर्नुपर्ने हुँदा, नागरिकताको प्रतिलिपि, जन्मदर्ता (बालबालिकाको हकमा), सामाजिक सुरक्षा भत्ता परिचयपत्र, राष्ट्रिय परिचयपत्र नम्बर, दुई प्रति पासपोर्ट फोटो, अपाङ्गता परिचयपत्र (अपाङ्गता भएका व्यक्तिका लागि) लगायतका कागजात लिएर बैंकमा उपस्थित हुन आग्रह गरिएको छ।

अति अशक्त जेष्ठ नागरिक, दलित बालबालिका तथा ‘क’ वर्गको अपाङ्गता भएका लाभग्राहीको हकमा संरक्षकको सिफारिस, नागरिकताको प्रतिलिपि र पासपोर्ट साइजको फोटो आवश्यक पर्ने सूचनामा उल्लेख छ।

थप जानकारीका लागि लाभग्राहीले सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा, इन्द्रसरोवर गाउँपालिका (सम्पर्क नम्बरः ९८६६३३९९६६) मा सम्पर्क गर्न सक्ने बताइएको छ।