मकवानपुरका पत्रकारलाई सहकारी अस्पतालमा निःशुल्क स्वास्थ्य सेवा

Image

हेटौंडा/ नेपाल पत्रकार महासंघ मकवानपुरमा आबद्ध पत्रकारले अब सहकारी अस्पताल हेटौँडामा निःशुल्क स्वास्थ्य सेवा पाउने भएका छन्। नेपाल पत्रकार महासंघ मकवानपुर र सुनौलो भविष्य सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित सहकारी अस्पतालबीच शनिबार भएको सम्झौतापछि तीन वर्षसम्म यस्तो सुविधा उपलब्ध हुने भएको हो।

सम्झौतामा महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण शर्मा अधिकारी र सहकारी अस्पतालका प्रतिनिधि नरोत्तम दाहालले हस्ताक्षर गरेका छन्। अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत पत्रकारलाई स्वास्थ्य उपचारमा सहजता उपलब्ध गराउने उल्लेख छ।

सम्झौता अनुसार सम्पूर्ण ओपिडी सेवा, शल्यक्रिया, भर्ना उपचार, ल्याब तथा रेडियोलोजी लगायतका परीक्षण निःशुल्क हुनेछन्। साथै औषधिमा १० प्रतिशत छुट समेत प्रदान गरिने छ। सेवा लिनका लागि पत्रकार महासंघले जारी गरेको सदस्यता प्रमाणपत्र अनिवार्य हुनेछ।

सम्झौता कार्यक्रम नेपालीहरूको महान् चाडपर्वको अवसर पारेर शुभकामना आदानप्रदान सहित सम्पन्न भएको हो। कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारू मगर, महासंघ मकवानपुरका अध्यक्ष अधिकारी, पूर्वअध्यक्षहरू, सहकारी अस्पतालका प्रतिनिधिहरू तथा पत्रकार महासंघसँग आबद्ध पत्रकारहरूको उपस्थिति थियो।

कार्यक्रमको सञ्चालन महासंघ मकवानपुरका जिल्ला सचिव केशव समर्पण सुवेदीले गरेका थिए।