हेटौंडा/ देशभर भदौ २३ र २४ गते भएको Gen-Z आन्दोलन तथा प्रदर्शनका क्रममा विभिन्न कारागारबाट भागेका कैदीबन्दीलाई कारागार व्यवस्थापन विभागले तुरुन्तै फर्कन अल्टिमेटम दिएको छ।
विभागको कालिकास्थान, काठमाडौंस्थित कार्यालयबाट जारी गरिएको पत्र (च.नं. २५०, मिति २०८२।०६।१०) अनुसार अझै कारागार नफर्केका कैदीबन्दीलाई आगामी असोज २० गते (२०८२।०६।२०) भित्रै अनिवार्यरुपमा फर्कनुपर्ने चेतावनी दिइएको छ।
निर्धारित म्यादभित्र नफर्किएमा उनीहरुमाथि कारागार ऐन २०७९ तथा प्रचलित कानुनअनुसार थप कानुनी कारवाही हुने विभागले जनाएको छ।
यससँगै विभागले फरार कैदीबन्दीलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिहरु समेत कानुन बमोजिम दोषी ठहरिने चेतावनी दिँदै कसैलाई पनि आश्रय वा सहयोग नगर्न आग्रह गरेको छ।

















