हेटौँडा/ परिवार र घरपरिवारबाट टाढा रहेर कारागारको पर्खालभित्र समय बिताइरहेका कैदीबन्दीलाई पनि चाडपर्वमा घरको सम्झनाले सताउँछ। उनीहरूको यही पीडामा हातेमालो गर्न मनहरी गाउँपालिकाले भीमफेदी कारागारमा खाद्यान्न र आवश्यक सामग्री सहयोग गरेको छ।
दसैं मनाउँदा घरमा परिवारले खसी काट्ने, चामल–चिउरा खाने परम्परा छ। त्यही माहोल कैदीबन्दीले पनि अनुभव गर्न सकून् भन्ने भावनासहित आइतबार गाउँपालिकाले २ वटा खसी, ७ बोरा चामल, ६ बोरा चिउरा र २.५ कार्टुन तेल उपलब्ध गरायो। साथै प्रशासनिक काम सहज बनाउन एउटा प्रिन्टर पनि हस्तान्तरण गरियो।
सहयोग सामग्री बुझ्दा कैदीबन्दीहरूको अनुहारमा देखिएको मुस्कान र उनीहरूको उत्साह गाउँपालिका प्रतिनिधिहरूका लागि पनि प्रोत्साहन बनेको थियो। गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले कैदीबन्दी पनि समाजकै हिस्सा भएकाले उनीहरूलाई चाडपर्वमा खुशी बाँड्न सक्नु सबैका लागि सन्तोषको कुरा भएको बताए।
कार्यक्रमका क्रममा जनप्रतिनिधिहरूले कैदीबन्दीसँग भेटघाट गर्दै शुभकामना आदानप्रदान गरे। मनहरी गाउँपालिकाका करिब ६० जना स्थायीवासी कैदीबन्दी रहेका भीमफेदी कारागारमा हरेक वर्ष यस्तो सहयोग हुँदै आएको छ।

















