हेटौंडा / बडादशैं २०८२ को अवसरमा बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले शुभकामना सन्देश जारी गर्दै यस पर्वले सत्य, धर्म र न्यायको विजयलाई उजागर गर्दै समाजमा शान्ति र सहअस्तित्वको ज्योति फैलाउने विश्वास व्यक्त गर्नुभएको छ।
प्रदेश प्रमुख देवकोटाले दशैंलाई केवल पर्व मात्र नभई असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको स्थापना र अन्धकारमाथि प्रकाशको प्रतीकका रूपमा व्याख्या गर्नुभयो। उहाँका अनुसार दशैं शक्तिको जागरण र आत्मबलको प्रतिक हो जसले धैर्य, संयम र सहकार्यको प्रेरणा दिन्छ।
हाल देश संवेदनशील रुपान्तरणको चरणमा रहेको उल्लेख गर्दै उहाँले हालैका आन्दोलन, जनधनको क्षति र यात्रुहरूले व्यहोरेको सास्तीले आम नागरिकमा उल्लास कमी भएको बताउनुभयो। यद्यपि, दशैंले शान्ति, स्थिरता र समृद्धिको ढोका खोल्ने अपेक्षा राख्दै उहाँले चुनौतीलाई अवसरमा बदल्न सबैलाई आह्वान गर्नुभयो।
सन्देशमा उहाँले नागरिकबीच आपसी सद्भाव, भ्रातृत्व र सहअस्तित्व सुदृढ बनाउन दशैं सहयोगी हुनेमा विश्वास व्यक्त गर्नुभयो। साथै, तडकभडक र फजूल खर्च नगरी आ–आफ्नो गच्छे अनुसार पर्व मनाउन समेत उहाँले आग्रह गर्नुभयो।

















