वीरगंजमा ग्याङ फाइट, १८ वर्षीय युवकको मृत्यु

Image

हेटौंडा / गए राति पर्साको वीरगंजमा ग्याङ फाइट हुँदा एक जनाको मृत्यु भएको छ। मंगलबार राति वीरगंजको माईस्थान र घडिअर्वा पोखरी क्षेत्रबीचको गितामन्दिर रोडमा दुई युवा समूहबीच भएको हानाहानमा १८ वर्षीय गोल्डेन खानको ज्यान गएको पर्सा प्रहरीले जनाएको छ।

गहवामाई मेला चलिरहेको बेला मध्यरातमा भएको झडपमा खान गम्भीर घाइते भएका थिए। उपचारका लागि नारायणी अस्पताल लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
घटनापछि प्रहरीले गितामन्दिर रोड क्षेत्रलाई सिल गरी अनुसन्धान सुरु गरेको छ। घटनामा संलग्न भएको आशंकामा ३ जनालाई नियन्त्रणमा लिइएको र अन्य फरार व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ गरिएका व्यक्तिहरूको नाम अनुसन्धान प्रक्रिया अगाडि नबढेसम्म गोप्य राखिएको पर्सा प्रहरीका प्रवक्ता डिएसपी हरि बहादुर बस्नेतले जानकारी दिए।
मृतकको शव नारायणी अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।