मुख्यमन्त्री बानियाँद्वारा मनहरी–६ मा नयाँ विद्यालय भवन उद्घाटन

Image

हेटौँडा/ बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मनहरी गाउँपालिका–६ रुपाचुरीमा निर्माण भएको सगरमाथा आधारभूत विद्यालयको चार कोठे नयाँ भवन उद्घाटन गरेका छन्।

अमेरिकी संस्था बिल्डिङ एजुकेशन को आर्थिक सहयोगमा एक अर्थ फाउन्डेशन नेपाल ले करिब ४० लाख रुपैयाँ लागतमा भवन निर्माण गरेको हो। भवनमा शौचालय र चौर सम्याउने कामसमेत गरिएको छ भने डेस्क–बेन्चको व्यवस्था गाउँपालिकाले गरेको छ।

उद्घाटन कार्यक्रममा मुख्यमन्त्री बानियाँले दातृ निकायप्रति आभार व्यक्त गर्दै शैक्षिक पूर्वाधार विकासका लागि प्रदेश सरकार पनि उतिकै गम्भीर रहेको बताएका छन्। उनले गाउँपालिकामार्फत राखिएका शिक्षक दरबन्दीलाई निरन्तरता दिन आग्रह गर्दै मनहरी निर्वाचन क्षेत्र भएकाले यस क्षेत्रको समग्र विकासमा बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रम सगरमाथा आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर मुक्तानको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती, दातृ निकायका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक खड्कबहादुर मुक्तानलगायतले मन्तव्य व्यक्त गरेका थिए।

सोही अवसरमा मनहरी गाउँपालिकाले वडा–६ का सात विपन्न परिवारलाई प्रतिफरिवार २० हजार रुपैयाँका दरले काजकिरिया खर्च सहयोग गरेको थियो। यसैगरी, चट्याङ लागी मृत्यु भएका विशाल ब्लोनको परिवारलाई गाउँपालिकाबाट २ लाख, मुख्यमन्त्री बानियाँबाट व्यक्तिगत १० हजार र प्रदेश सरकारमार्फत थप १ लाख रुपैयाँ सहयोग उपलब्ध गराइने घोषणा गरिएको छ।