हेटौंडा- काठमाडौं तीन दिन राती सवारी आवागमन बन्द : पहिरो जोखिमका कारण प्रशासनको निर्णय

Image

हेटौंडा/ जिल्ला प्रशासन कार्यालय, मकवानपुरले पहिरोको उच्च जोखिमका कारण काठमाडौँ जाने दुईवटा मुख्य मार्गमा राती सवारी आवागमन रोक्ने निर्णय गरेको छ।

प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठका अनुसार कान्तिलोकपथमार्गमा असोज १७ गते बेलुकी ४ बजेदेखि २० गते बिहान ६ बजेसम्म र हेटौंडा–भैँसे–काठमाडौं मार्गमा असोज १९ गते बेलुकी ५ बजेदेखि २० गते बिहान ६ बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइनेछ।

यो निर्णय मौषम विज्ञान विभागले असोज १५ गते जारी गरेको मौषम पूर्वानुमानलाई आधार मानेर गरिएको हो। उक्त सूचनाअनुसार राती ती क्षेत्रमा लगातार वर्षा भई पहिरो तथा सडक अवरोधको उच्च सम्भावना रहेको छ।

प्रशासनले नदी किनार तथा तटीय क्षेत्रका स्थानीयलाई पनि धनजनको क्षति हुन नदिन सतर्क रहन आग्रह गरेको छ। साथै, जिल्लाका सबै सुरक्षा निकाय, स्थानीय तह र स्वयंसेवकलाई विपद् व्यवस्थापन र पूर्वतयारीमा समन्वय गर्न निर्देशन दिइएको छ।

यस निर्णयले यात्रुहरूलाई असुविधा भए पनि सम्भावित दुर्घटनाबाट बचाउन आवश्यक कदम उठाइएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जानकारी दिनुभयो।