हेटौंडा / हेटौंडा उपमहानगरपालिका–४ का वडा अध्यक्ष नवीन सिग्देलले भ्रष्टाचारविरुद्धको लडाइँ “अर्कासँग होइन, आफ्नै व्यवहारबाट सुरु हुनुपर्ने” बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक धारणा व्यक्त गर्दै सिग्देलले नेताहरूलाई शब्दभन्दा काममा पारदर्शिता देखाउन चुनौती दिएका छन्।
“भ्रष्टाचार गफबाट होइन, व्यवहारबाट निर्मूल गर्ने हो,” अध्यक्ष सिग्देलले लेखेका छन्।
उनका अनुसार, देशमा भ्रष्टाचारमुक्त प्रणालीको आधार नै नेतृत्वको ईमानदार आचरण र संस्थागत पारदर्शिता हो।
सिग्देलले पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, पूर्व अर्थसचिव रामेश्वर खनाल र नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलगायत उच्चपदस्थ व्यक्तिहरूले आफ्नो कार्यकालमा “कसलाई कति बुझाए” भन्ने तथ्य सार्वजनिक गर्न सक्ने हो भने मात्र देशले सत्य नेतृत्व पाउने बताएका छन्।
उनले प्रश्न उठाएका छन् — “यदि ती पदमा पुगेका व्यक्तिहरूले आफ्ना कार्यकाललाई पूर्णरूपमा भ्रष्टाचारमुक्त भन्न सक्छन् भने, त्यसबाटै छानबिन सुरु होस्।”
अध्यक्ष सिग्देलले न्यायपालिका, अर्थ मन्त्रालय र सरकारी निकायहरूलाई पारदर्शी र जवाफदेही बनाउन नीति होइन, मनोवृत्तिको सुधार अपरिहार्य रहेको बताएका छन्।
“पदीय दुरुपयोग र अनियमितता जसले गरे पनि स्वीकार्य हुँदैन,” उनको भनाइ छ।
उनले आरोप र बदनाम गर्ने प्रवृत्तिलाई कानुनी सीमाभित्र ल्याउनुपर्ने आवश्यकता पनि औंल्याएका छन्।
त्यस्तै, सिग्देलले भाद्र २३ गतेको हत्याकाण्डको निष्पक्ष छानबिन र भाद्र २४ गतेको सार्वजनिक तथा निजी सम्पत्तिमाथिको तोडफोडमा संलग्नहरूमाथि कडा कारबाही र क्षतिपूर्ति असुल गर्न सरकारसँग माग गरेका छन्।
सिग्देलको अभिव्यक्तिलाई स्थानीय राजनीतिक वृत्तले “व्यवहारिक शुद्धताबाट सुरु भएको सन्देश” का रूपमा व्याख्या गरेको छ। उनका अनुसार, “सुधारको सुरुवात सधैं आफूबाट हुनुपर्छ, त्यसपछि मात्र समाजमा परिवर्तन सम्भव हुन्छ।”

















