मकवानपुरमा सवारी दुर्घटना : EV गाडी र मोटरसाइकल ठोक्किँदा १६ जना घाइते

Image

हेटौंडा/ मकवानपुर जिल्लाको बागमती गाउँपालिका–४ हरामीचोकस्थित मदन भण्डारी लोकमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा १६ जना घाइते भएका छन्।

प्राप्त जानकारी अनुसार बिहान अन्दाजी ६:४५ बजेको समयमा सिन्धुलीबाट हेटौंडातर्फ आउँदै गरेको म.प्र.०२–००१ ज ००७२ नम्बरको EV गाडीले भित्रि बाटोबाट राजमार्गतर्फ निस्कँदै गरेको ना ५ प ५५५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करपछि EV गाडी अनियन्त्रित भई करिब १५ फिट तल खोल्सोमा खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा EV गाडीमा सवार यात्रुहरू र मोटरसाइकल चालक सहित जम्मा १६ जना व्यक्ति घाइते भएका छन्।
घाइतेहरूलाई प्रहरी टोलीले तत्काल उद्धार गरी स्थानीय साम्भि पोलिक्लिनिक र सहकारी अस्पतालमा उपचारका लागि पठाएको बताइएको छ।

प्रहरीका अनुसार घटनास्थलमा गम्भीर घाइते भेटिएका छैनन्, र दुर्घटनाको थप अनुसन्धान भइरहेको छ।