हेटौंडा/ मकवानपुरको राक्सिराङ्ग गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयले आर्थिक वर्ष २०८१/०८२ को अन्तिम लेखापरीक्षणका लागि इच्छुक दर्तावाला लेखापरीक्षकहरूबाट आशयको निवेदन (EOI) माग गरेको छ।
गाउँपालिकाले जारी गरेको सूचनाअनुसार गाउँपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू र सहकारी संस्थाहरूको लेखापरीक्षण गर्नुपर्ने भएकाले नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थामा सूचीकृत लेखापरीक्षकहरूले आवश्यक कागजातसहित यो सूचना प्रकाशन भएको मितिदेखि ३० दिनभित्र निवेदन पेस गर्न सक्ने छन्।
लेखापरीक्षणका लागि निवेदन दिने लेखापरीक्षकहरूले लेखापरीक्षण गर्न इच्छुक भएको आशयपत्र, लेखापरीक्षक प्रमाणपत्रको छायाँप्रति, नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थामा नवीकरणसहित सूचीकृत प्रमाणपत्र, आर्थिक वर्ष २०८१/०८२ सम्मको कर चुक्ताको प्रमाणपत्र, लेखापरीक्षणसम्बन्धी कुनै कारबाही नभएको स्वघोषणापत्र र व्यवसाय दर्ता प्रमाणपत्रको छायाँप्रति अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर बस्नेतले हस्ताक्षरित उक्त सूचनामा, “शिक्षा, स्वास्थ्य, कृषि, विद्युत, वातावरण र पूर्वाधार, राक्सिराङ्गको विकासको आधार” भन्ने नारासहित सार्वजनिक गरिएको छ।
आशयपत्र पेस गर्न इच्छुक लेखापरीक्षकहरूले थप जानकारीका लागि गाउँपालिकाको कार्यालय चैनपुर, मकवानपुरमा सम्पर्क गर्न सक्ने वा [email protected] मा इमेल गर्न सकिने जनाएको छ। 

















