हेटौंडा / मकवानपुरकको कैलाश गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरणका मिति, समय र स्थान सार्वजनिक गरेको छ। गाउँपालिकाको जारी सूचनाअनुसार भत्ता वितरण सानिमा बैंक लिमिटेड, कैलाश शाखामार्फत गरिने जनाएको छ।
गाउँपालिकाले वडा नं. १, २, ५ र ६ का लाभग्राहीका लागि मिति तोकेर वितरण कार्यक्रम तय गरेको छ।सूचनाअनुसार वडा नं. ५ मा २०८२ असोज २६ गते, वडा नं. ६ मा २०८२ असोज २८ गते, वडा नं. १ मा २०८२ असोज ३० गते र वडा नं. २ मा २०८२ कार्तिक २ गते बिहान १० बजे देखि साँझ ४ बजेसम्म वितरण हुने जनाइएको छ।
गाउँपालिकाले जानकारी दिएअनुसार भत्ता वितरणका क्रममा लाभग्राहीले निम्न कागजातहरु साथमा ल्याउनुपर्नेछ सामाजिक सुरक्षा परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र (सक्कल र प्रतिलिपि), संरक्षकको नागरिकताको प्रमाणपत्र (सक्कल र प्रतिलिपि), चेक बुक, र राष्ट्रिय परिचयपत्रको प्रतिलिपि।
यसैबीच गाउँपालिकाले वडा नं. ९ र १० का लाभग्राहीको भत्ता वितरण भने तिहारअघि समय अभावका कारण पछि सूचना प्रकाशन गरी वितरण गरिने जनाएको छ।
गाउँपालिकाका नि. प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र शिवाकोटीद्वारा हस्ताक्षरित उक्त सूचनामा वडा कार्यालयहरू, प्रहरी चौकीहरू र सानिमा बैंक शाखालाई आवश्यक समन्वयका लागि अनुरोध गरिएको छ।
कैलाश गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणलाई व्यवस्थित, सुरक्षित र पारदर्शी बनाउन सबै सरोकारवालाको सहकार्य अपेक्षा गरेको छ।

















