हेटौंडा / मकवानपुरको भीमफेदी गाउँपालिका–१ सानुटार याङराङपुल नजिक एक युवकले ‘जेनजी समूह’को नाममा चालकमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्। बुधबार राति करिब १० बजे घटेको घटनापछि प्रहरीले २२ वर्षीय अमिर रुम्बालाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार रुम्बाले आफू ‘जेनजी समूह’सँग आबद्ध रहेको भन्दै तरकारी तथा कृषि उत्पादन ढुवानी गर्ने सवारीसाधनहरू रोकेका थिए। उनले चालकहरूसँग अश्लील शब्द प्रयोग गर्दै कुटपिटसमेत गरेको अभियोग छ।
घटनाबारे जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले रुम्बालाई नियन्त्रणमा लिएको र थप अनुसन्धान सुरु गरेको जनाएको छ।
प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी जारी रहेको बताएको छ।
स्थानीयहरूले रातिको समयमा सार्वजनिक बाटोमा गैरकानुनी रूपमा चेकजाँच गर्ने, चालकहरूमाथि दुर्व्यवहार र धम्की दिने घटनाहरूले सुरक्षाको प्रश्न उठाएको बताएका छन्।

















