हेटौंडा/ हेटौंडा उपमहानगरपालिका–१९ बस्तिपुरस्थित राप्ती खोलाको बगरमा सोमबार साँझ एक पुरुषको शव फेला परेको छ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार बस्तिपुरबाट भुद्रुङतर्फ जाने नयाँ पुलमुनि खोलाको बगरमा अन्दाजी २५ देखि ३० वर्ष उमेरका एक पुरुष मृत अवस्थामा भेटिएका हुन्।
प्रहरीका अनुसार मृतक मागी खाई हिँड्ने जस्तो देखिने व्यक्ति हुन्। उनको नाम, थर र वतन हालसम्म खुल्न सकेको छैन।
घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय नेवारपानी, मकवानपुरको प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले साँझ करिब ७ बजे मुचुल्का कार्य सम्पन्न गरी शवलाई पोष्टमार्टमका लागि हेटौंडा अस्पताल मकवानपुर पठाएको जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

















