बागमती प्रदेश सरकारले ३ अर्ब ४७ करोड खर्च कटौती गर्ने निर्णय

Image

हेटौंडा / वित्तीय अनुशासन मजबुत पार्दै अनुत्पादक खर्च नियन्त्रण गर्ने उद्देश्यले बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटका विभिन्न शीर्षकमा ठूलो परिमाणमा खर्च कटौती गर्ने निर्णय गरेको छ।

प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार, प्रदेश सरकारले ४३ वटा शीर्षकमा क्रमशः ३०, ४० र ५० प्रतिशतसम्म बजेट कटौती गर्ने निर्णय गरेको हो।
असोज २ गते बसेको मन्त्रीपरिषद् बैठकले खर्च कटौतीको सम्भाव्यता अध्ययन गर्न समिति गठन गरेको थियो। उक्त समितिको प्रतिवेदनका आधारमा तालिम, बैठक, भ्रमण भत्ता, प्रोत्साहन, सेवा तथा परामर्श खर्च, कार्यालय सामग्री लगायतका शीर्षकमा बजेट घटाउने निर्णय गरिएको मन्त्रालयले जनाएको छ।

आर्थिक मामिला तथा योजना मन्त्री तथा प्रदेश सरकारका प्रवक्ता प्रभात तामाङका अनुसार, चालु आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजित ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँको बजेटमध्ये ३ अर्ब ४७ करोड १२ लाख ३८ हजार रुपैयाँ कटौती गर्ने निर्णय भएको हो।

उनका अनुसार, आवश्यकता र प्राथमिकताका आधारमा बजेट कटौतीको दर तोकिएको छ।
• ३० प्रतिशत कटौती हुने शीर्षकबाट २ अर्ब ७६ करोड ९० लाख ३१ हजार रुपैयाँ,
• ४० प्रतिशत कटौती हुने शीर्षकबाट ३६ करोड १३ लाख ७९ हजार रुपैयाँ,
• र ५० प्रतिशत कटौती हुने शीर्षकबाट ३४ करोड ८ लाख २८ हजार रुपैयाँ कटौती गरिनेछ।

मन्त्री तामाङका अनुसार, कर्मचारी बैठक भत्ता र पदाधिकारी भत्तामा ५० प्रतिशत, प्रोत्साहन तथा पुरस्कारमा ३० प्रतिशत, र अन्य भत्ताहरूमा समेत ५० प्रतिशत खर्च कटौती गर्ने निर्णय गरिएको छ।