राजनीतिक सुविधाभन्दा मानवता प्राथमिकता : मुख्यमन्त्री बानियाँको आफ्नै लगानीमा विपन्नका लागि घर

Image

हेटौंडा/ राजनीतिक शक्ति र पदको उपयोग व्यक्तिगत लाभका लागि गर्ने चलनबीच, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उदाहरणीय कदम चालेका छन्। उहाँले आफ्नो पारिश्रमिक र निजी खर्चबाट मकवानपुरको मनहरी–९ की मिठुमाया सुनारलाई भूकम्प प्रतिरोधी घर हस्तान्तरण गरेर मानवमुखी नेतृत्वको सन्देश दिनुभएको छ।

सरकारी दरअनुसार करिब रु. ७ लाख ५० हजार पर्ने घर रु. ४ लाख ६५ हजारमै निर्माण गरिएको हो। आसिसी पिल्लर प्रणालीमा बनेको घरमा तीन कोठा, शौचालय, बत्ती र खानेपानीको सुविधा रहेको छ।
घर हस्तान्तरण गर्दै मुख्यमन्त्री बानियाँले भने,
“हामीले राजनीति गरेको मान्छेको सेवाका लागि हो। मानवताको सेवा नै हाम्रो राजनीति हो।”

बीपी कोइरालाको ‘गरिबलाई न्याय, गरिबलाई आय’ भन्ने सिद्धान्तबाट आफू प्रेरित भएको बताउँदै उहाँले आफ्नो राजनीतिक जीवनको केन्द्रबिन्दु मानवताको सेवा र समावेशी विकास रहेको उल्लेख गर्नुभयो।

मिठुमायालाई घरसँगै बाख्रा पालनका लागि रु. २० हजार आर्थिक सहयोग पनि प्रदान गरिएको छ।
प्रदेशभर १,००० विपन्नका लागि घर र आयआर्जन योजना
मुख्यमन्त्री बानियाँले आगामी नीति अन्तर्गत प्रदेशभरका १,००० विपन्न परिवारका लागि घर निर्माण गर्ने योजना सार्वजनिक गर्नुभएको छ।

उहाँका अनुसार,
“यदि ५ लाखमा एउटा घर बनाउन सकिन्छ भने ५० करोडमा हजार घर बन्छ। हामी यो किन नगर्ने?”
घर पाउने परिवारलाई सरकारले २ लाख रुपैयाँसम्मका आयमूलक व्यवसाय (बाख्रा, कुखुरा, गाईभैंसी पालन वा तरकारी खेती)का लागि किस्ताबन्दी सहुलियत दिनेछ।
कार्यक्रमको कार्यान्वयन र निगरानी स्थानीय गाउँपालिकामार्फत हुने बताइएको छ।

त्यसबाहेक, मुख्यमन्त्री बानियाँले मकवानपुरकै राक्सिराङ र कैलाश गाउँपालिकामा थप दुई घर निर्माण गरी हस्तान्तरण गर्ने तयारी पनि अघि बढाइरहनुभएको छ।