हेटौंडा/ जिल्ला प्रशासन कार्यालय, मकवानपुरले आगामी शुभ–दीपावली, नेपाल सम्बत् ११४६ र छठ पर्वका अवसरमा सम्पूर्ण मकवानपुरवासीलाई शुभकामना दिँदै पर्वहरू शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा मनाउन अनुरोध गरेको छ।
जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठद्वारा आइतबार जारी विज्ञप्तिमा राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी, निजी तथा सरकारी संस्थाका पदाधिकारी र सम्पूर्ण जिल्लावासीको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् प्रगतिका लागि शुभकामना व्यक्त गरिएको छ।
विज्ञप्तिमा तिहार तथा छठका अवसरमा हुने भीडभाड र गतिविधिबाट सार्वजनिक शान्ति, सुरक्षा र सुव्यवस्थामा असर नपर्ने गरी पर्व मनाउन सबैलाई आग्रह गरिएको छ।
प्रशासनले देउसी–भैलो जस्ता सांस्कृतिक कार्यक्रम राति ९ बजेपछि सञ्चालन नगर्न, पटका, आतिशबाजी, भुईचम्पा जस्ता प्रज्वलनशील पदार्थको प्रयोग नगर्न, तथा जुवा–तास, मादक पदार्थ सेवन गरी होहल्ला गर्ने क्रियाकलाप नगर्न निर्देशन दिएको छ।
त्यस्तै, प्लाष्टिकका फूलगुच्छा उत्पादन, आयात, बिक्री वा भण्डारण गर्न नेपाल सरकारले पूर्ण रूपमा रोक लगाएको उल्लेख गर्दै त्यसको पालना गर्न सबैमा अनुरोध गरिएको छ।
सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु नराख्ने, तोकिएको भन्दा बढी भाडा नलिने, बजारमा म्याद गुज्रेका वा अखाद्य वस्तु बिक्री नगर्ने र आगलागी जोखिमबाट बच्न सावधानी अपनाउन पनि प्रशासनले आग्रह गरेको छ।
प्रशासनले समाजमा अवाञ्छित गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालय वा प्रहरी कन्ट्रोल रुम (१००) मा जानकारी गराउन अनुरोध गर्दै, निर्देशन विपरीत गतिविधि भएमा प्रचलित कानुन अनुसार कारबाही हुने चेतावनी दिएको छ।

















