हेटौंडा / मिति २०८२ असोज ३१ गते जिल्ला मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० बाट जुवातास खेलिरहेको अवस्थामा ११ जना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट ११ बुक तास र नगद रु. ६ लाख ६ हजार ३ सय १० रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकामध्ये दुई जना व्यक्तिहरू फरार अभियुक्त रहेको खुलासा भएको छ। अनुसन्धानका क्रममा CRS प्रणाली मार्फत गरिएको चेकजाँचपछि ती व्यक्तिहरू विगतका विभिन्न आपराधिक घटनामा संलग्न रहेको पुष्टि भएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पक्राउ परेकामध्ये
हेटौंडा–१० बस्ने ३७ वर्षीय अर्जुन तामाङ (बिजय तामाङ) लाई मिति २०७४ साउन ११ गते जिल्ला अदालत सिन्धुपाल्चोकले जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय तोकेको थियो। उनी सो फैसला पछि फरार रहँदै आएका थिए।
त्यस्तै, बागमती गाउँपालिका–५, ज्यामिरे निवासी २७ वर्षीय राजेश दर्नाल (हेमन्त परियार) का विरुद्ध विभिन्न प्रहरी कार्यालयहरूमा चोरी तथा डाँका सम्बन्धी ५ वटा मुद्दा दर्ता रहेको खुलेको छ। उनी विरुद्ध मकवानपुर, ललितपुर र काठमाडौँ जिल्लामा मिति २०८१ सालमा दर्ता भएका विभिन्न मुद्धाहरू पाइएका छन्।
मकवानपुर जिल्ला प्रहरीले हाल ती दुबै फरार अभियुक्तसहित सबै ११ जनामाथि जुवा सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।

















