हेटौंडा–काठमाडौं जोड्ने दुई मुख्य सडक मार्गहरू – सिस्नेरी–दक्षिणकाली सडक र कान्तिलोकपथ (हेटौंडा–भीमफेदी–खानीखोला–फर्पिङ मार्ग) — दुबै अवरुद्ध

Image

हेटौंडा/ मकवानपुर जिल्लामा अविरल वर्षापछि पहिरो र ढुङ्गा खस्दा दुई महत्त्वपूर्ण वैकल्पिक सडक मार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्। यसले हेटौंडाबाट काठमाडौंतर्फ आवतजावत गर्ने सवारीसाधन र यात्रुहरूलाई ठूलो समस्यामा पारेको छ।

इन्द्रसरोवर गाउँपालिका–३, ज्यामिरेस्थित सिस्नेरी–दक्षिणकाली सडक खण्डमा शनिबार अपराह्न पहिरो गएपछि हेटौंडा–भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली मार्ग बन्द भएको हो। लगातार वर्षाका कारण माथिबाट माटो र ढुङ्गा खसिरहेकाले तत्काल सडक खोल्न नसकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले बताए।

“रात परिसकेको र माथिबाट अझै पहिरो झरिरहेकाले अहिले जोखिमपूर्ण छ, भोलि बिहानदेखि मात्रै पन्छाउने काम सुरु गर्ने तयारीमा छौँ,” बोगटीले भने।
त्यस्तै, बकैया गाउँपालिका–११, घट्टेपाखामा रहेको कान्तिलोकपथमा पनि आज बिहान ठूला ढुङ्गा खसेर सडक बन्द भएको छ। अस्थायी प्रहरी पोष्ट जितपुरबाट उद्धार टोली परिचालन गरी मेसिनमार्फत ढुङ्गा हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। अवरुद्ध स्थान पोष्टबाट करिब चार किलोमिटर पूर्वमा पर्छ।

दुईवटा वैकल्पिक सडक एकैपटक बन्द हुँदा हेटौंडा–काठमाडौं आवागमन ठप्प भएको छ। यात्रुहरू बीचमा नै अलपत्र परेका छन् भने मालसामान ढुवानी पनि प्रभावित भएको छ।

प्रशासनले निरन्तर वर्षाको कारण थप जोखिम हुन सक्ने भन्दै स्थानीय र सवारी चालकलाई सतर्क रहन तथा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।