हेटौंडा / जेसीआई हेटौंडाद्वारा जेसीज सप्ताह २०२५ अन्तर्गत मंगलबार हेटौंडा–४ हुप्राचौरमा रक्तदान कार्यक्रम तथा स्लो मोटरसाइकल रेस प्रतियोगिता सम्पन्न भएको छ।
‘रक्तदान जीवनदान’ भन्ने मूल नारासहित सम्पन्न पहिलो कार्यक्रममा २० जनाले रक्तदान गरेका थिए। कार्यक्रममा रक्त सञ्चार केन्द्र मकवानपुरले प्राविधिक सहयोग प्रदान गरेको थियो।
त्यसैगरी ‘तीव्र गति, जीवन क्षति’ भन्ने नारासहित सम्पन्न दोस्रो कार्यक्रम स्लो मोटरसाइकल रेस प्रतियोगितामा हेटौंडा–५ का विक्रम उलक प्रथम, हेटौंडा–५ कै मित्र प्रसाद गौतम द्वितीय, र हेटौंडा–२ का विवेक बानिया तृतीय भएका छन्।
प्रतियोगिता हेटौंडा–४ शितल महल चोकदेखि हुप्राचौर गेटसम्म सम्पन्न भएको हो। प्रतियोगितामा २५ जना सहभागी रहेका थिए। कार्यक्रममा सहभागीहरुलाई प्रहरी उपरीक्षक (एसपी) सुबास चन्द्र बोहराबाट प्रमाणपत्र वितरण गरिएको थियो भने प्रथम, द्वितीय र तृतीय हुनेलाई मेडल तथा पुरस्कार प्रदान गरिएको थियो।
रक्तदान कार्यक्रम शाखा अध्यक्ष पंकज दास बानियाको सभाअध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा विनोद वाग्ले संयोजक तथा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार डा. भिमसागर गुरागाई प्रमुख अतिथि रहेका थिए।
त्यसैगरी, स्लो मोटरसाइकल रेस कार्यक्रम अशोक सिंहको संयोजकत्वमा तथा प्रमुख अतिथि प्रहरी उपरीक्षक सुबास चन्द्र बोहराको उपस्थितिमा सम्पन्न भएको हो।
कार्यक्रममा सन् २०२० का शाखा अध्यक्ष राजदेव बानिया, सन् २००८ का शाखा अध्यक्ष एवं बोर्ड अफ ट्रष्टीका अध्यक्ष कुश रिजाल, तथा विभिन्न वर्षका जेसीज सदस्यहरूको सहभागिता रहेको थियो।
सप्ताहव्यापी कार्यक्रमका लागि सन्तोष पराजुली मूल कार्यक्रम संयोजक र किरण आले सह–संयोजक रहेका छन्।
कार्यक्रम जेसीआई हेटौंडा सन् २०२५ का महासचिव संजय कुमार न्यौपानेले सञ्चालन गरेका थिए।

















