हेटौंडा/ आजबाट थाहा नगरपालिकामा निर्माण गरिएको थाहा बसपार्क औपचारिक रूपमा सञ्चालनमा आएको छ। बसपार्कको उद्घाटन थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्ट र उपप्रमुख भरत गोपालीले संयुक्त रूपमा गर्नुभएको हो।
कार्यक्रममा प्रमुख अतिथि बिष्टले नगरवासीका लागि यातायात सुविधा सुव्यवस्थित बनाउन बसपार्कको सञ्चालन महत्वपूर्ण कदम भएको बताउनुभयो। उहाँले नगरपालिकाले सार्वजनिक यातायात व्यवस्थापन र सहरको ट्राफिक दबाब कम गर्नका लागि थप योजनाहरू अघि बढाइरहेको जानकारी दिनुभयो।
त्यसैगरी उपप्रमुख गोपालीले बसपार्क सञ्चालनसँगै स्थानीय व्यवसाय र यात्रु दुवै लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो।
थाहा बसपार्क सञ्चालनमा आएपछि नगरका विभिन्न क्षेत्रबाट आउने सवारीसाधनहरू व्यवस्थित रूपमा पार्किङ गर्न सक्ने भएको छ। स्थानीयवासीले बसपार्क सञ्चालनमा आएकोमा खुशी व्यक्त गरेका छन्।

















