हेटौंडा/ नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी मकवानपुरले एकीकृत समाजवादी पार्टीमा आवद्ध आफ्ना पूर्व कार्यकर्ताहरूप्रति पार्टीमा पुनः फर्कन हार्दिक अपिल गरेको छ। उपाध्यक्ष हिदम लामाको हस्ताक्षरमा जारी अपिलपत्रमा नेकपा (एमाले) नै नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाह, राष्ट्रिय स्वाधीनता, विकास र समृद्धिको प्रमुख नेतृत्वकर्ता भएको उल्लेख गरिएको छ।
अपिलमा भनिएको छ, “नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाह नेकपा (एमाले) राष्ट्रिय स्वाधीनताको, विकास र समृद्धिको नेतृत्वकर्ता हो भन्ने कुरा तथ्य र परिणामले पुष्टि गरेको विषयहरूले हामीलाई गर्वबोध भएको छ।”
अपिलपत्रमा भाद्र २३ र २४ गतेका दिन भएका “जेन जी आन्दोलन” र त्यसमा भएको घुसपैठले उत्पन्न गरेको अव्यवस्थित अवस्थाको पनि उल्लेख गरिएको छ। अपिलका अनुसार, सो आन्दोलनको समयमा एमालेको पार्टी कार्यालय र नेतृत्वको निवासमाथि भएको आक्रमणले पार्टीविरुद्ध योजनाबद्ध प्रहार भएको पुष्टि गरेको छ।
एमाले मकवानपुरले विदेशी तथा प्रतिक्रियावादी शक्तिहरूले एमालेलाई कमजोर बनाएर नेपालको राष्ट्रिय स्वाधीनता र समृद्धिको यात्रामा बाधा पुर्याउने प्रयास गरिरहेको आरोप पनि लगाएको छ। पार्टीका अनुसार, अहिलेको राजनीतिक परिदृश्यमा दलहरूको गठन, पुनर्गठन र विघटनका श्रृङ्खलाहरू तीव्र रूपमा देखापरेका छन्।
अपिलमा भनिएको छ, “हिजो नेकपा (एमाले) मा आवद्ध भई लामो समय पार्टी निर्माणमा रगत पसिना बगाउनु भएका कमरेडहरू मकवानपुरमा पनि पार्टी विभाजनको क्रममा एकीकृत समाजवादीमा आवद्ध हुनुभएको थियो। विद्यमान परिस्थितिमा तपाईहरूको योगदानको निरन्तरता, राजनीतिक क्रियाशीलता र सुनिश्चित गन्तव्य आफ्नो पुरानो घर नेकपा (एमाले) नै हुन सक्छ भन्ने हाम्रो विश्वास छ।”
उपाध्यक्ष हिदम लामाले मकवानपुर जिल्लाका सबै एकीकृत समाजवादीमा आवद्ध कार्यकर्ताहरूलाई पार्टीमा पुनः फर्कन आह्वान गर्दै भनेका छन्,
“आफ्नो पुरानो घर नेकपा (एमाले) नै हो, फर्कनुस्।”
उनले हालको राष्ट्रिय राजनीतिक परिस्थितिमा एमालेको एकता र संगठन सुदृढीकरण अपरिहार्य भएको उल्लेख गर्दै सबै कार्यकर्तालाई राष्ट्र, जनता र समाजवादको बाटोमा पुनः जुट्न आग्रह गरेका छन्।

















