हेटौंडा/ हेटौंडा–२ संगमचोकस्थित हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ। सभाको अध्यक्षता संस्थाका अध्यक्ष हरिप्रसाद पौडेलले गरेका थिए।
संस्थाकी व्यवस्थापक रमलाकुमारी सापकोटाका अनुसार सहकारीमा हाल करिब तीन हजार शेयर सदस्य छन्। आर्थिक वर्ष २०८१/०८२ मा संस्थाको शेयर पूँजी रु. ६ करोड ६६ लाख ३२ हजार ६ सय, कर्जा लगानी रु. ५६ करोड ४१ लाख ६५ हजार ८९४, र कुल बचत रकम रु. ५६ करोड ६३ लाख २४ हजार ३१८ रहेको उल्लेख गरिएको छ। सहकारीको कुल पूँजी रु. ७४ करोड ८२ लाख ९४ हजार ४४८ पुगेको प्रतिवेदनमा जनाइएको छ।
सहकारीको कार्यक्षेत्र हेटौंडा उपमहानगरपालिकाका सबै वडा, बकैया गाउँपालिकाका वडा नं. ३ देखि ७ सम्म, र मकवानपुरगढी गाउँपालिकाका वडा नं. १ देखि ४ सम्म रहेका छन्। सहकारीले बकैयाबाट सेवा केन्द्र सञ्चालन गरी ती क्षेत्रका सदस्यलाई सेवा प्रदान गर्दै आएको छ।
सभाकै अवसरमा विभिन्न श्रेणीका सदस्य र कर्मचारीहरूलाई सम्मान गरिएको थियो। नियमित बचतकर्तातर्फ भोलाप्रसाद दाहाल र यशोदा कुईकेल, असल ऋणीतर्फ पम्फा श्रेष्ठ र सविना थापा, र उत्कृष्ट कर्मचारीतर्फ वरिष्ठ कार्यालय सहायक मनोज दाहाललाई सम्मान गरिएको थियो। साथै एसईई र कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने छात्रछात्रालाई पनि पुरस्कृत गरिएको थियो।
संस्थाका सचिव सीताराम दाहालले आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गरी सभाबाट पारित गराएका थिए। सो अवसरमा जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरकी अध्यक्ष कल्पना श्रेष्ठले साधारणसभाको महत्व र प्राधिकरणले जारी गरेका निर्देशिकासम्बन्धी विषयमा सहजीकरण गरेकी थिइन्।
सभामा संस्थाका सल्लाहकार नुरप्रसाद गौतम, राजु ढकाल, राजकुमार तिमल्सिना र अरुण कुमार खतिवडा लगायतका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

















