हेटौंडा/ जितपुरसिमरा उपमहानगरपालिका–१६, काटघाट क्षेत्रमा पूर्व–पश्चिम राजमार्ग हुँदै जाँदै गरेको ट्रकमाथि जंगली हात्तीले आक्रमण गर्दा चालकको घटनास्थलमै मृत्यु भएको हो।
ना ४ ख १८३० नम्बरको ट्रकका चालक, जितपुरसिमरा उपमहानगरपालिका–१ निवासी करिब ४० वर्षीय राजकुमार चौधरी ट्रकबाट उत्रेर भाग्ने क्रममा राजमार्गदेखि करिब १०० मिटर दक्षिणतर्फ जंगलमा पुगेका थिए। त्यही बेला हात्तीले उनलाई आक्रमण गरेको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रवक्ता प्रहरी निरीक्षक खेमप्रसाद नेपालले जानकारी दिए।
घटनापछि इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी निरीक्षक जीवन लामिछानेको नेतृत्वमा ७ जनाको टोली घटनास्थलमा खटिएको र हात्तीलाई जंगलतर्फ धपाउने कार्य भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार हात्तीले अन्य केही सवारीसाधनमा पनि क्षति पुर्याएको छ। क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको बताइएको छ।
स्थानीयवासीले सो क्षेत्रमा पछिल्ला दिनहरूमा जंगली हात्तीको आवत–जावत बढेको र जोखिम बढिरहेको बताएका छन्।

















