हेटौंडा / जेन जेड आन्दोलनका क्रममा मकवानपुरमा भएको आपराधिक उपद्रव, तोडफोड र आगजनी प्रकरणमा संलग्न पाँच जना पक्राउ परेका छन्।
मकवानपुर प्रहरीले जानकारी दिए अनुसार मिति २०८२ साल भदौ २४ गते (२०८२।०५।२४) का दिन हेटौडा उपमहानगरपालिका क्षेत्रमा भएको जेन जेड आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति तथा निजी घरमा आगजनी र तोडफोड गरिएको थियो।
सो क्रममा हेटौडा उ.म.न.पा.–११, नवलपुर बस्ने सुशिल पौडेलको घरमा आगजनी र तोडफोड गर्ने आरोपमा सुजन अधिकारी (३६ वर्ष) र सुरेन्द्र राना मगर (३५ वर्ष) लाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूविरुद्ध मकवानपुर जिल्ला अदालतबाट आपराधिक उपद्रोह सम्बन्धी कसुरमा म्याद थप गरिएको छ।
यस्तै, बागमती प्रदेश सभा सचिवालयको भवन र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको भवनमा तोडफोड तथा आगजनी गर्ने घटनामा संलग्न रहेको आरोपमा थप तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सर्लाही बरथवा नगरपालिका–१ की पुनम ठाकुर (२७ वर्ष), प्रमोद महतो (२७ वर्ष) र हेटौडा उ.म.न.पा.–८ का सागर घताने उर्फ रोमबहादुर घताने (४३ वर्ष) रहेका छन्।
प्रहरीका अनुसार उनीहरू सबैलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान र कानुनी कारबाही अगाडि बढाइँदैछ।

















