हेटौंडामा फोहोर व्यवस्थापन शुल्कमा राजस्व चुहावटको पर्दाफास

Image

हेटौंडा/ हेटौंडा उपमहानगरपालिकामा फोहोर व्यवस्थापनका नाममा नागरिकबाट उठाइने शुल्क र त्यसको प्रयोगबारे गम्भीर प्रश्नहरू उठ्न थालेका छन्। स्थानीयवासीका अनुसार नगरका अधिकांश घरधुरीबाट नियमित रूपमा संकलन गरिने शुल्क निजी कम्पनीमार्फत उठाइए पनि, सो रकम नगरपालिकाको आम्दानीभन्दा निजी कम्पनीको नाफा बढाउने माध्यम बन्दै गएको छ।

अघिल्ला वर्षमा फोहोर संकलनको ठेक्का पाउने कम्पनीले उपमहानगरलाई वार्षिक पाँच लाख रुपैयाँ बुझाउँथ्यो। तर आगामी आर्थिक वर्षका लागि न्यूनतम कबुलियत रकम पच्चीस लाख रुपैयाँ तोकिएको छ। यो तथ्य आफैंले अघिल्ला वर्षहरूमा राजस्व चुहावट भएको संकेत गर्छ।

नगरका सरोकारवालाहरूका अनुसार यदि निजी कम्पनीले यति ठूलो रकम नाफा रूपमा राख्न सकेको थियो भने, त्यो रकम अब नगरपालिकाको आयका रूपमा रूपान्तरण गर्न सकिने स्पष्ट सम्भावना छ। स्थानीयहरूका भनाइमा, “नगरबासीमाथि कर र शुल्कको भार बढाउनेभन्दा, आन्तरिक व्यवस्थापन सुधारमार्फत आम्दानी बढाउने नीति दीगो र न्यायोचित हुन्छ।”

फोहोर व्यवस्थापन मात्र होइन, अन्य राजस्व श्रोतहरूमा पनि यस्तै प्रकारका चुहावट रोक्ने आवश्यकता देखिएको छ।
तर समस्या केवल आर्थिक पक्षमा सीमित छैन। फोहोर व्यवस्थापनमा देखिएको लापरबाहीले पर्यावरण र जनस्वास्थ्यमा गम्भीर असर पारेको छ। प्रत्येक वर्ष हेटौंडाको डम्पिङ साइटमा हुने आगलागी, धुवाँ र दुर्गन्धका कारण वातावरण दूषित हुने र बालबालिकादेखि वृद्धबृद्धासम्म प्रभावित हुने अवस्था दोहोरिँदै आएको छ। महिनौँसम्म निभ्न नसक्ने आगलागीले हावाको गुणस्तर घटाउनुका साथै पशुपंक्षीको जीवनमा समेत असर पार्ने गरेको छ।

फोहोर संकलनको ठेक्का पाउने कम्पनीहरू नाफामा केन्द्रित भएर जिम्मेवारी बिर्सिने प्रवृत्तिमा रहेको स्थानीयवासीहरूको गुनासो छ। यसलाई रोक्नका लागि उपमहानगरपालिकाले अब ठेक्का सम्झौतामा दण्ड–जरिवाना र वातावरणीय मापदण्ड पालनाको स्पष्ट कानुनी व्यवस्था गर्नुपर्ने सरोकारवालाहरूको माग छ।

सामाजिक अभियन्ता बिसाल राज महतका अनुसार, अब समय आएको छ कि फोहोर व्यवस्थापनलाई नाफा कमाउने माध्यम संगै नागरिक स्वास्थ्य र सफा सहर निर्माणको दायित्वका रूपमा लिनुपर्छ। उनले आफ्नो सामाजिक सञ्जालमार्फत लेख्दै भनेका छन्, “नगरपालिकाले पारदर्शिता, जनउत्तरदायित्व र वातावरणीय मापदण्डका साथ काम गरे मात्र हेटौंडा साँच्चिकै सफा, स्वस्थ र उत्तरदायी सहर बन्न सक्छ।”