हेटौंडा/ मकवानपुर प्रहरीले हेटौडाबाट ठूलो परिमाणको प्रतिबन्धित लागूपदार्थ ट्रामाडोलसहित पाँच जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहीबार बिहान करिब १०:०० बजे हेटौडा उपमहानगरपालिका–५ सानो पोखरा क्षेत्रमा लागूपदार्थ कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले सो ठाउँमा बसिरहेका पाँच जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा मकवानपुर बकैया गाउँपालिका–१२ का १९ वर्षीय अशोक स्याङतान, हेटौडा–१७ का २० वर्षीय प्रवेश बरैली, हेटौडा–४ का २० वर्षीय निशान कोईराला, हेटौडा–२२ का ३५ वर्षीय राजिब लामा (बक्सर) र मकवानपुरगढी गाउँपालिका–२ का २३ वर्षीय दिपेश संजेल रहेका छन्।
उनीहरूको साथबाट बिक्री वितरणका लागि लुकाइराखिएको ८,३०० थान ट्रामाडोल क्याप्सुल बरामद गरिएको प्रहरीले जनाएको छ। साथै ना.३२ प ३२४४ र बा.प्रदेश ००५ प १८५ नम्बरका दुईवटा मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पक्राउ परेकाहरूलाई लागूपदार्थ (निषेधित औषधि) सम्बन्धी कसुरमा मकवानपुर जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान भइरहेको छ।

















