हेटौंडा / बस्तिपुर जेसीज मनहरी र लायन्स क्लब अफ हेटौंडा स्मारकको संयोजन तथा भीमफेदी गाउँपालिकाको मुख्य आयोजनामा मङ्सिर १ देखि ४ गतेसम्म सञ्चालन भएको निःशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
गाउँपालिकाका सबै वडामा सेवा पु–याउँदै सञ्चालन गरिएको यस शिविरमा कुल ५९४ जनाले आँखा परीक्षण गराएको गाउँपालिका अध्यक्ष हिदम लामाले जानकारी दिनुभयो।
परीक्षणमा शल्यक्रिया आवश्यक ठहरिएका २५ जनाको शल्यक्रिया भने गाउँपालिकाको अस्पतालमै प्राविधिक टोली तथा आवश्यक उपकरण ल्याई सम्पन्न गरिएको थियो।
शिविरमा नेपाल नेत्रज्योति संघ अन्तर्गत भरतपुर आँखा अस्पतालले प्राविधिक सहयोग प्रदान गरेको थियो। साथै मकवानपुर घर भई हाल अमेरिका बस्दै आएका गोपेन्द्र भट्टराई तथा उनका परिवारले आर्थिक सहयोग उपलब्ध गराएका थिए।
शिविर समापन समारोहमा भीमफेदी गाउँपालिका उपाध्यक्ष संजीव श्रेष्ठ, भरतपुर आँखा अस्पतालका प्रमुख डा. पुष्पा गिरी श्रेष्ठ, नेत्रज्योति संघ केन्द्रीय कार्यालय प्रमुख डा. चेतराज पन्त, लायन्स क्लब अफ हेटौंडा स्मारकका अध्यक्ष जीवन छत्कुलि, बस्तिपुर जेसीज मनहरीका अध्यक्ष सन्तोष उप्रेती, नेपाल जेसीजका पूर्व उपाध्यक्ष सिनेटर तेजप्रसाद उप्रेती (रमेश) तथा वडा नं. २, ४, ५ र ६ का वडाध्यक्षहरू उपस्थित रहेका थिए।
समापन कार्यक्रम स्वास्थ्य शाखा प्रमुख रामनाम थिङको सञ्चालनमा सम्पन्न भएको हो।

















