हेटाैंडा–४ मा प्रकाश विस्तार अभियान, हुप्र चौर पहिलो प्राथमिकतामा

Image

हेटौंडा/ मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ स्थित हुप्र चौर अहिले आधुनिक प्रकाश व्यवस्थाले रूपान्तरण हुँदैछ। नेपाल विद्युत प्राधिकरणको प्राविधिक सहयोगमा चौरभरि उच्च क्षमताकाे बत्ती जडानको काम तीव्र गतिमा अघि बढेको वडाध्यक्ष नविन सिग्देलले जानकारी दिए।

चौरको पूर्व भागस्थित मञ्चनजिक आठवटा बत्ती समावेश भएको एकथान हाई–मास्ट जडान भइरहेको छ। त्यस्तै, पानी ट्यांकी क्षेत्र र भलिबल कोर्ट क्षेत्रमा रातिको दृश्यता सुधार गर्ने उद्देश्यले छ–छ वटा बत्ती रहने गरी दुई वटा मिनी–मास्ट स्थापना कार्य अन्तिम चरणमा पुगेको छ।

प्रकाश व्यवस्था सुदृढ भएपछि रातिकै समयमा खेलकुद तथा सामाजिक गतिविधि सहज रूपमा सञ्चालन हुने वडाध्यक्ष सिग्देलको भनाइ छ। “फुटबल, क्रिकेटदेखि भलिबलसम्मका खेल अब अन्धकारले रोक्ने छैनन्,” उनले बताए, “यो कदमले सुरक्षामा सुधार ल्याउनेछ र स्थानीय चहलपहल पनि बढ्नेछ।”

उपमहानगरपालिकाले विद्युत प्राधिकरणसँगको सहकार्यलाई अन्य शहरी वडाहरूमा पनि विस्तार गर्दै, क्रमशः उच्च क्षमताकाे प्रकाश उपकरण जडानको काम अघि बढाइरहेको जनाएको छ।