हेटौंडा/ हेटौंडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलले हेटौंडाको सडक विस्तार कार्य अब ढिला नगर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो विचार व्यक्त गर्दै उनले मुआब्जा नपाएकालाई उचित क्षतिपूर्ति उपलब्ध गराएर सडक फराकिलो बनाउने काम तुरुन्त अघि बढाउन जोड दिएका छन्।
सिग्देलले भने, “मुआब्जा नपाउनेले पाउनु पर्छ, हेटौंडाको सडक फराकिलो हुनुपर्छ। हेटौंडाबासीको चाहना, आजको आवश्यकता यही हो। अब ढिला नगराैँ।”
सडक विस्तारको विषयमा केही समयदेखि स्थानीय सरोकारवालाबीच मतभेद देखिएको अवस्थामा वडाध्यक्षको सार्वजनिक अभिव्यक्ति महत्त्वपूर्ण मानिएको छ। उनले विकास कार्यमा सबै पक्षको सहकार्य आवश्यक रहेको र नगरको दीर्घकालीन हितका लागि समयमै निर्णय र कार्यान्वयन अनिवार्य भएको बताए।
स्थानीय बासिन्दाले पनि प्रशासन र जनप्रतिनिधिबीच समन्वय गरी काम छिटो अघि बढाउन माग गर्दै आएका छन्। वडाध्यक्ष सिग्देलको अभिव्यक्ति त्यही जनचाहनाको प्रतिफलको रूपमा लिइएको छ।

















