हातेमालो बचत तथा ऋण सहकारी संस्था ‘उत्कृष्ट प्रादेशिक सदस्य’ सम्मानबाट सम्मानित

Image

हेटौंडा/ राष्ट्रिय सहकारी बैंक लिमिटेड (NCBL) को २२औँ वार्षिक साधारण सभामा हेटौंडा–२, मकवानपुरस्थित हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई ‘उत्कृष्ट प्रादेशिक सदस्य’ सम्मान प्रदान गरिएको छ।

बचत तथा ऋण कारोबार गर्ने बागमती प्रदेशका सदस्य संस्थाहरूमध्ये सहकारीको विकास, प्रवर्द्धन र सामाजिक रूपान्तरणमा पु¥याएको उल्लेखनीय योगदानको आधारमा हातेमालोलाई यो सम्मान प्रदान गरिएको संस्थाकी व्यवस्थापक रमलाकुमारी सापकोटाले जानकारी दिनुभएको छ।

कारोबार पारदर्शिता, समुदायमा आधारित सेवा विस्तार, सामाजिक उत्तरदायित्व र सहकारी सुदृढीकरणमा संस्थाले देखाएको निरन्तर प्रतिबद्धताको उच्च मूल्याङ्कन गर्दै राष्ट्रिय सहकारी बैंकले प्रशंसा–पत्र सहित सम्मान गरेको हो।

सम्मान प्रदान गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाई, सम्मान पुरस्कार कार्यदलका संयोजक विजया धिताल तथा बैंकका अध्यक्ष महेन्द्र कुमार गिरीले हातेमालो साकोसले प्रदेशका अन्य सहकारीका लागि प्रेरणादायी भूमिका खेलेको उल्लेख गरे।

बैंकले आगामी दिनमा समेत हातेमालो साकोसले सहकारीको माध्यमबाट समुदायको आर्थिक, सांस्कृतिक तथा सामाजिक विकासमा अझ प्रभावकारी योगदान गर्ने अपेक्षा व्यक्त गरेको छ।

यसअघि पनि हातेमालो बचत तथा ऋण सहकारी संस्था समुदायमा आधारित कार्यक्रम, वित्तीय पहुँच विस्तार र सामाजिक उत्तरदायित्व प्रवर्द्धनमा सक्रिय रूपमा काम गर्दै आएको छ।