हेटौंडा/ मकवानपुरको मनहरी गाउँपालिकामा निर्वाचित भएको पहिलो दिनदेखि नै ‘जनताका आवश्यकतामा तलब–भत्ता’ खर्च गर्ने प्रतिवद्धता जनाएका अध्यक्ष सन्जन कालाखेतीले आफ्नो सो प्रतिज्ञालाई निरन्तरता दिँदै फेरि एकपटक सामाजिक सद्भावको उदाहरण प्रस्तुत गरेका छन्।
सडक, भवन र योजनामै सीमित नबसिकन अध्यक्ष कालाखेतीले यसपालि मनहरी–४ का २३ जना विपन्न तथा दलित विद्यार्थीलाई विद्यालय पोसाक उपलब्ध गराएका हुन्। सोमबार पशुपति माध्यमिक विद्यालयको स्वर्ण महोत्सव उद्घाटन समारोहका बीच करिब ४३ हजार रुपैयाँ मूल्य बराबरकाे पोसाक हस्तान्तरण गरिएको हो। विद्यालयले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूको सूची सिफारिस गरेपछि अध्यक्ष कालाखेतीले आफ्नो तलब–भत्ताबाट सो सहयोग उपलब्ध गराएका हुन्।
अध्यक्ष कालाखेतीले २०७९ मा पदभार सम्हाल्दै गर्दा जनप्रतिनिधिले सुविधा मात्र उपभोग गर्ने प्रवृत्तिको आलोचना गर्दै आफूले पाउने तलब–भत्ता विपन्न नागरिकका हितमा खर्च गर्ने घोषणा गरेका थिए। त्यही उद्घोषअनुसार उनले यसअघि मनहरी–५ मा एक विपन्न एकल महिलाका लागि घर निर्माण गरिसकेका छन् भने मनहरी–६ मा अर्को घर निर्माणको काम जारी छ।
स्वर्ण महोत्सवको उद्घाटनसँगै विद्यालय परिसरमा झन्डोतोलन तथा विद्यार्थीबीच चम्चा दौड, बोरा दौडलगायत मैत्रीपूर्ण प्रतियाेगिताहरू सम्पन्न भएका थिए। सप्ताहव्यापी कार्यक्रमको समापन मंसिर १५ गते बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले गर्ने विद्यालय व्यवस्थापन समिति अध्यक्ष माधव गौतमले जानकारी दिए।
उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष कालाखेती प्रमुख अतिथि रहेका थिए। साथै मनहरी–४ का वडाध्यक्ष प्रकाश थापा, ९ का वडाध्यक्ष राजकुमार श्रेष्ठ, ४ का पूर्व वडाध्यक्ष पवन खड्कालगायत स्थानीय जनप्रतिनिधिहरूको पनि आतिथ्यता रहेको थियो।

















