हेटौंडा / बारा जिल्लाको पचरौता नगरपालिका–६ चिकनी टोलस्थित सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रण अभियानका क्रममा बिहीबार राति प्रहरी र तस्कर समूहबीच गोली–गोलाबारी भएको छ। गोली प्रहारमा कसैलाई चोट नपरे पनि घटना स्थलबाट केही सवारी साधन र कागजात बरामद भएको प्रहरीले जनाएको छ।
भारतको हनुमाननगरतर्फबाट मोटरसाइकल र नम्बर नखुलेको ट्रयाक्टरमार्फत तस्करीको सामान लिएर नेपालतर्फ प्रवेश गरेका करिब २५ जनाको समूहलाई रोक्ने प्रयास गर्दा भिडन्त सुरु भएको हो। रोक्न संकेत गर्दा समूहले कटुवा पेस्तोलबाट दुई राउण्ड फायर गरेपछि प्रहरीले सात राउण्ड जवाफी फायर गर्नुपरेको इन्सपेक्टर कृणदेव प्रसाद साहले जानकारी दिइएको हो।
प्रहरीकाे निगरानी टोलीलाई लगातार धम्क्याउँदै आएको तस्कर समूहले अचानक आক্রমण गरेपछि बाध्य भएर जवाफी कारबाही गरिएको बाराका प्रहरी इन्सपेक्टर कृणदेव प्रसाद साहले बताउनुभयो। उहाँका अनुसार भिडन्तपछि तस्करहरू अँध्यारोको मौका छोपेर फरार भएका थिए।
घटनास्थलबाट भारतीय नम्बर प्लेटका चार मोटरसाइकल बरामद गरिएको छ। साथै भारतीय नागरिक रञ्जित कुमारको नाम उल्लेख भएको चालक अनुमति पत्र, भारतीय तथा नेपाली सिम कार्ड पनि फेला परेको इन्सपेक्टर साहले जानकारी दिनुभयो।

















